Sunday, January 24, 2021

Mistake

 

She made her choice, which was good for her. Why? I don’t know. But it made me realize so many things about myself. Like the fact that I don’t want to be in a relationship now. I want to write, help others to motivate. I want to make myself better, I want to get better at my study and I want to make my hopes and dreams come true.

      Fact is, definitely I will get to the point in my life when the right woman would look at me and that’ll be the beginning of the new story, the beginning of a new way of love.
The last one broke my heart and made my life so much better because of it. It was a good experience but it changed me in ways I couldn’t have managed to change by myself. For what it’s worth, I want to thank her, she broke my heart.
She was the best mistake I have ever done in my life..

उनि

 

कहिल्यै श्रृङ्गारमा नदेखेको उनलाई आज आफ्नो बिहेमा तल देखि माथिसम्म कालो पहिरनमा सजिएको देख्दा मन चिसो भयो। यो कस्तो स्थिति हो जहाँ आफूलाई माया गर्ने मान्छे बिना कुनै हिचकिचाहट बिहेमा सरिक हुन्छ। सोच्नै नसक्ने हिम्मत जुटाएर अनि आफ्नो मनोभावलाई सकेजति नियन्त्रण गरेर ऊ मेरो बिहेमा अाईदिई । अझ भनौं, सम्बन्धका हरेक चरणमा मभन्दा माथी उठेर सधैं मेरो शंका उपशंकालाई  गलत साबित गर्दै आएकी ऊ आज मेराे बिहेमा आएर मलाई पुनः एकपटक गलत साबित गरिदिई।

एक हप्ता फोनमा अघि कुरा हुँदा १६ गते बिहे छ आऊ ल भन्दा उसले कुनै प्रतिकृया नदिई फोन काटेकी थिई। एक हप्ताभरि बिहेको तयारीमा लागेको म उसलाई निम्ता गरेको कुरा नै बिर्सेको रहेछु। मनमा कतै नलागेको कुरा र अलिकति समयसम्म नदिई सोचेको कुरा भइदियो यो माहोल।ऊ अाई अनि मेरो एउटा कुनामा दबिएर रहेको अहंलाई नांगेझार बनाईदिई। आफू टुटेर फुटेर टुक्रै टुक्रा हुँदा पनि ऊ आई। स्वार्थी भएर परिवारको खुशीको लागि उसको ननुनय लत्याएर अरुसँगै बिहे गर्न लागेको मलाई उसको उपस्थिति  ठुलो भारी पर्यो। भित्रैदेखि उकुमुकुस भएको म  ऊ देखि आँफैलाई लुकाउन मन लाग्यो। ऊ देखि भाग्न मन लाग्यो।

हाम्रो बिहे नहुनु एउटा ठुलो घटना थियो मेरो लागि तर त्यो भन्दा ठूलो दुर्घटना उसको उपस्थिति भयो मेरो लागि। पश्चाताप, हिनताबोध अनि असजीलोपनले म एकाएक  त्यो माहोलमा चिटचिट हुन थालें‌ । प्रिय मान्छे तिमी नआउनु पर्थ्यो यहाँ। तिमी नहुनु पर्थ्यो यो पापको धुवाँ उडेको मण्डप  वरिपरि। हेरत कुनै समय तिमी नहुँदा एक्लो लाग्ने यो मन आज तिमी आउँदा पनि खुशी छैन– मलाई भन्न मन लाग्यो...

चोर आँखाले उसलाई हेरेँ। कालो सारी, कालाे चस्मा कालो जुत्ता अनि कालै झुम्कामा सजिएर उसले यो बिहेको विरोध जनाएको कुरा बुझ्न मैंले रत्तिभर समय लगाइन। सोचें– यो शान्त अनि शालिन विरोध भित्र उसको दुःखेको छाती लुकेको छ। उसको त्यो कालो चस्मा भित्र विछोडको आँशु बगेको छ। तर थाह छ, ऊ आफूलाई कतैपनि कमजोर प्रस्तुत गर्न चाहन्न। ऊ आफूलाई त्यो भिडमा अलग अनि बलियोगरी उभ्याउन चाहान्छे। कताकता उसको यो साहसलाई प्रेम गर्न मन लाग्यो। उसको त्यो विरोधलाई सलाम गर्न मन लाग्यो। तर प्रेम र सम्मान त त्यही दिन सकियो जुन दिन मैंले उसलाई छोडेर अर्को अन्जान आत्मासँग बिहे गर्न राजी भएँ।

एकछिन अडिएर ऊ हामी भएतिर अाई । ऊ जति हाम्राे नजिक अाई उति मेरो धड्कन तीव्र भयो। ऊ अब त्यो भन्दा नजिक नआए हुने नी! अब मनले थाम्न सक्ने स्थिति सकिएको अवस्थामा ऊ ठिक मेरो अघि अाई। बधाई छ तिमीलाई ! "I'm so happy for you both" ऊ अगाडि आउँदा उसलाई स्पष्ट देख्न गारो भयो तर उसको आवाज मेराे मन अनि मस्तिष्क दुवैलाई छोएर विलीन भयो।

मेरो हुने वाला श्रीमती मुस्कुराउनमै व्यस्त थिइन्। यो सब माहोलको एक रति पनि आँकलन गर्न नसक्ने दिन थियो उनको तर म भित्र आँधी मडारियो । तैंले यो ठिक गरिनस्– आत्मा बोल्यो। मेरो गला अवरुद्ध भयो। मलाई कसैले यो स्थिति बुझेर पानी दियोस्। ऊ एकछिन् रोकिएर यता उता नियाली अनि फेरि सोधी " Do you want some water! You look so nervous" हो म नर्भस छु यो अलौकिक स्थितिविच म एक्लो नामर्द अनि सहयोगबिहिन छु। उसले पानी ल्याएर दिई । मैंले एक घुट्कामा एक गिलास पानी पिएँ। आफुभदा ठिक अगाडि क्यामेरा अनि मोबाइलका फ्ल्यास म तिरै तेर्सिएका थिए। मलाई त्यी मेरो अपराधको विरुद्ध म माथी उठेका बन्दुक जस्तै लागे। हजुरलाई गारो भयो। यता मेरी हुने वाली मलाई कानेखुसी गर्छिन्। म ठिक छु भन्दै झुटो मुस्कान पेश गर्छु।

ल अब निस्कन्छु, अर्को बिहे "अटेण्ड" गर्नु छ। "वान मोर टाइमस् ह्यापी म्यारिड लाईफ" उसले पिलपिल गर्दै भनी उसको स्वरमा मिसिएको पिडा मैले सहज अनुभव गरें। यतिबेला आफ्नै बिहे जीवनको सबैभन्दा ठुलो गल्ति लाग्यो मलाई। मैंले केही भन्न नपाउँदै ऊ सरासर त्यहाँबाट निस्किई अनि ढोकाबाट बिलाई। ऊ जसरी आई त्यसैगरि गई। ऊ अब कहाँ पुग्छे मलाई थाहा छैन तर एकाएक यो बिहेको माहोल मलाई शुन्य लाग्यो।

ऊ सरल जीवन बाँच्ने एक सरल नारी हो। जीवनका बाटाहरू फरक अनि फराकिला हुन्छन् भन्ने कुरा उसले बुझेकी छ। उसले जीवन असलमा बुझेकी छ। ऊ बिना खुशी हुन गारो हुन्छ भन्ने मलाई थाहा थियो तर एउटा अकाट्य अनि कथा जस्तो लाग्ने परिस्थिले मैंले उसलाई सधैंको लागि गुमाए। माया गरेर पनि अन्त्यमा म उसको लागि लड्न सकिनँ। इच्छा भएर पनि उसलाई सधैं आफ्नो अघि राख्न सकिनँ। हो यहि नै जीवनको सबैभन्दा ठूलो नियति रहेछ। र सबैभन्दा ठूलो कुरा अब मैंले उसको अघि कुनै पनि कारण प्रस्तुत गर्नु हुन्न किनकि म ठुलो पराजित आत्मा हुँ। उसले माया गर्दा गर्दै मैंले आफ्नो स्थानबाट त्यो मायाको उचित सम्मान दिन सकिनँ। ऊ गएपछि लाग्यो उसले मेरो यो सबै उमङ्ग अनि खुशी लिएर गई। फेरि मनले भन्यो– तैंले उसको खुशी माथी प्रहार गरेको चै ठिक भयो र ?

बिहे चल्दै गर्दा सक्ने जति खुशी भएको नाटक गर्छु । तर सोचहरु हुरी जस्तै गरि आउँछन्। यस्तो लाग्छ– न म माफीको लायक छु न अब उसको दुखेको मनलाई पुनः नदुखाउन सक्छु। यो सबैबिच अब मैंले उसलाई उच्च सम्मान मात्र दिन सक्छु। फूल जस्तै पवित्र छे ऊ । त्यही भएर  मलाई थाहा लाग्छ जीवनको सबैभन्दा अग्लो स्थानमा पुग्दा पनि उसको विराटता अनि सुगन्ध कहिल्यै घट्ने छैन।

मन मस्तिषक अस्थिर छ । मनभरी उसको याद अनि आफूले गरेको अन्याय थाहा हुँदाहुँदै म अगाडि बढ्छु। अब सोच्छु, म यो बन्धनबाट कहिल्यै मुक्त हुने छैन। तिमीसँग हुँदा माया अनि जीवनप्रति सिकेका सुन्दर पाठ अब मेरी श्रीमतीमा लागु गर्नेछु। यो सोच्दैगर्दा म मेरी श्रीमतीको अनुहार हेर्छु। उसको आँखामा खुशी फुलेको छ। सायद यही  लेखेको रहेछ जीवनमा वा लेखेको भई छाड्छ जीवनमा।  भाग्य त बनाउने कुरा हो भनेर गफ दिने म आफैं भाग्यद्वारा पराजित भएँ।

बेस्सरी आँखा चिम्लन्छु अनि एकपटक उसले लगाएको सर्वाङ्गै कालो पहिरन सम्झन्छु। उसको शान्त  विराेध जायज छ। असलमा ऊ सहि छे अनि म गलत छु र जीवनभर गलत हुनेछु। ऊ जीवनभर सही अनि उच्च हुने छे सायद अब जीवनका कुनै बाटामा उसलाई भेट्दा म शिर उठाउन सक्तिनँ होला। सायद  त ऊ सँग कहिल्यै भेट्न सक्तिनँ होला । मनमा अन्तरद्वन्द्व चल्दै गर्दा आफुलाई बलियो पारेर  अन्तिम पटक उसलाई आँखा सम्म ल्याएर सम्झन्छु। अनि आँखा खोल्छु। सबैको अनुहारमा खुशी छ। यो माहोलबिच म एउटा मात्र फरक छु। सोच्छु,ऊ अब कतै छैन। न मेरो जीवनमा। न मेरो बिहेमा न अब यो मनमा। तर ऊ जहाँ भएपनि उसको भागमा बचेको खुशीले ऊ कहिल्यै निराश नहोस्।

यहीँ बिच पुरेतको आवाज मेरो कानमा प्रतिबिम्वित हुन्छ, "अब दुलाहाले दुलहीलाई सिन्दुर हाल्दिने" !! यो सुन्दैगर्दा म मेरी उनीलाई हेर्छु। उनमा खुशी कतै डगमगाएको छैन। म प्रति माया विश्वास अनि अपेक्षाले भरिएको उनको अनुहार नै अब मेरो जीवनको ऐना हो।  लामो सास तानेर सोच्छु– यही हो मेरो जीवनमा लेखिएको भाग्यको कथा। अब यही कथालाई जीवनभर बोक्नुपर्छ मैंले। यही कथालाई पढ्दै बाँच्नुपर्छ मैंले। अब हास्नुपर्छ मैंले।